काठमाडौँ। चार दिनको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन् । वर्षाले अवरुद्ध राजमार्ग र सडकखण्डको अवरोध हटाउने काम तीव्र रुपमा भइरहेको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, लेदो खस्ने र सडक भासिने समस्याका कारण मुख्य राजमार्ग र सडक अवरुद्ध भएको जानकारी दिनुभयो । सोमबारदेखि वर्षा रोकिएसँगै अवरुद्ध अधिकांश राजमार्ग र सडक सञ्चालनमा आइसकेका छन् ।
प्रवक्ता न्यौपानेले भन्नुभयो, “छिट्टै अवरोध हटाएर अवरुद्ध राजमार्ग सञ्चालनमा आउने छन् ।” उहाँले देशभरका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकहरू पहिरो र कटानका कारण प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको च्याल्से खण्डमा पहिरो र ठुला ढुङ्गा खसेर अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । नारायणगढ–मुग्लिन सडकको धारापानी र फिस्लिङनजिक एकतर्फी तथा सिमलतालनजिक आधा सडक भासिएकाले एकतर्फी मात्र सञ्चालनमा छ ।
बिपी राजमार्ग अन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी र चौकीडाँडालगायत स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण सडक अवरुद्ध छ र थप क्षति नभएमा मङ्गलबार साँझसम्ममा खुल्ने सम्भावना रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
त्यसै गरी कान्ति राजमार्गका चार स्थानमध्ये दुई स्थानको पहिरो हटाइसकिएको र बाँकी दुई स्थानमा काम जारी रहेकाले छिट्टै यो राजमार्ग पनि खुल्ने अपेक्षा गरिएको छ । हुलाकी राजमार्गको चितवनस्थित ठोरी–माडी खण्डको घाँघर खोलाको पहुँच मार्ग र विङ वालमा बाढीले क्षति पुर्याएकाले अहिले हल्का सवारी मात्र एकतर्फी रूपमा सञ्चालन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्ग अन्तर्गत लमजुङको मध्यनेपाल–८ र बुर्तीबाङ–पातीहाल्ने खण्ड पहिरो तथा कटानका कारण अवरुद्ध छन् भने घोडाबाँध–हटिया र हटिया–बुर्तीबाङ खण्ड एकतर्फी सञ्चालनमा रहेका छन् । काठमाडौँलाई तराईसँग जोड्ने अन्य मुख्य मार्गहरू बन्द भएपछि त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ । स्थानीय प्रशासनले तोकेको निश्चित समयतालिका र सवारीको आकार (एघार मिटरसम्मका लम्बाइ भएका सवारीसाधन) अनुसार यो राजपथ सञ्चालनमा ल्याइएको छ ।
पूर्वपश्चिम राजमार्गको तराई खण्ड (दाउन्ने क्षेत्रका केही ठाउँमा पहिरोका कारण एकतर्फी भए पनि) र कोशी ब्यारेज आसपासका क्षेत्रहरूमा सतर्कतासाथ यातायात सञ्चालन भइरहेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र चक्रपथ र भित्री सडकहरू आपसास रहेका नदी र खोलाहरूमा पानीको बहाब केही घटेसँगै यातायात सञ्चालन भए पनि नदी, खोला र नदीकिनारका कोरिडोर सडकहरूमा अझै जोखिम कायमै छ ।
सडक विभाग र नेपाल प्रहरीले पहिरो पन्छाउने कार्य तीव्र पारेका भए पनि मौसम पूर्ण रूपमा सफा नभएसम्म र पहिरो खस्ने क्रम नरोकिएसम्म अत्यावश्यक कामबाहेक लामो दुरीको यात्रा नगर्न अनुरोध गरेका छन् ।गोरखापत्र अनलाइन
भउचप्रसाद यादव




