काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत सोमबार नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीको सामना गर्नुहुनेछ ।
महिला सिङ्गल्समा भने शिभाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिनुभएको थियो । शिभाली दक्षिण कोरियाकी दायोन बाकसँग ६–१, ६–० तथा स्वस्तिका जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ को सेटमा पराजित हुनुभएको थियो ।
मिक्स्ड डबल्समा पनि शिभालीले दोस्रो चरणको यात्रा तय गर्न सक्नुभएनन् । पुरुष सिङ्गल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजकिस्तानका एलेक्सेन्डर सेभचेन्कोविरुद्ध खेल्नुहुने छ ।
अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए । एथलेटिक्सतर्फ आज महिला पाँच हजार मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नुहुनेछ ।




