बेइजिङ, चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।
उहाँले प्रभावितको पुनः स्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड दिनुभएको छ । सिपिसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्था गर्नुभएको हो । बैठकको सुरुआतमा सीसहित नेताले बुधबार गाइरोङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीडितप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गर्नुभएको थियो ।
बैठकले उद्धार कार्यलाई द्रुत, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । परिवर्तनशील मौसम, भिरालो भूभाग, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण उक्त क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण रहेको बैठकमा उल्लेख गरिएको छ ।
सम्बन्धित सबै निकायले वैज्ञानिक ढङ्गले खोज तथा उद्धार योजना तयार गरी बेपत्ता सबै चिनियाँ तथा विदेशी नागरिकको खोजीमा सक्दो प्रयास गर्नुपर्नेमा बैठकले जोड दिएको छ । प्रभावित नागरिकको पुनःस्थापना तथा विपद्पछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिइएको छ । चीनले नेपालको विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने बैठकमा बताइएको छ । रासस/सिन्ह्वा




