ला भिल्ला डे लस सान्तोस । शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ । अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ । मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन् ।
शुक्रबार सात दशमलव सात र छ दशमलव छ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि केन्द्रविन्दु नजिकका भवन भत्किएका थिए । भूकम्पका कारण मध्यअमेरिकी देशका विभिन्न भागका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । भूकम्पविदले पाँच दशमलव आठ, पाँच दशमलव पाँच र पाँच दशमलव दुई म्याग्निच्युडका परकम्पसहित १०० भन्दाबढी परकम्प रेकर्ड गरेका छन् ।
अमेरिकी भू–गर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प मध्य प्रान्त हेरेराको दुर्गम बस्ती पितालोझा अरिबाबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित थियो । १० किलोमिटर गहिराइमा गएको उक्त भूकम्प छिमेकी देश कोलम्बियामा महसुस गरिएको थियो । राष्ट्रपति कार्यालयका मन्त्री जुआन कार्लोस ओरिलाकले राजधानी पानामा सिटीमा आयोजित पत्रकार सम्मेलनमा सङ्कटकाल घोषणा गर्नुभएको हो ।
उहाँले भूकम्पबाट घर, विद्यालय, स्वास्थ्य केन्द्र, सडक र होटलमा क्षति पुगेको जानकारी दिनुभयो । राष्ट्रिय नागरिक सुरक्षा प्रणालीकी उपनिर्देशक मालिजी रिभेराले सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेका २७ जनाको विवरण प्राप्त भएको बताउनुभयो ।
सयौँ घर र विद्यालयमा क्षति
भूकम्पबाट सबैभन्दा बढी क्षति मध्यक्षेत्रका भेरागुआस, हेरेरा, कोक्ले र लस सान्तोस प्रान्तमा पुगेको छ । नागरिक सुरक्षा निकायका अनुसार करिब ४२० घर र त्यति नै सङ्ख्यामा सार्वजनिक विद्यालयमा क्षति पुगेको छ। यसैगरी सात होटल, कम्तीमा १३ चर्च र नौ पुल प्रभावित भएका छन् ।
भूकम्पको केन्द्रविन्दुबाट करिब ६४ किलोमिटर उत्तरपूर्वमा रहेको औपनिवेशिककालीन बस्ती ला भिल्ला डे लस सान्तोसमा घर र ऐतिहासिक क्याथोलिक चर्च भत्किएका छन् । रात सडकमा बिताएका स्थानीय बासिन्दा सरकारी निर्देशनको प्रतीक्षामा छन् । आफ्नो घर आंशिक रूपमा भत्किएपछि आफन्तसँग पालमुनि बसिरहेका टोनी जिमेनेजले आफूले शुक्रबार दिउँसोदेखि नै सडकमा समय बिताइरहेको बताउनुभयो । रासस/एपी




