कृष्णजंग शाह
नेपालगञ्ज बाँके
बाढीले भूगोल बगाएको छ, तर हाम्रो साहस बग्न दिनु हुँदैन।
विपत्तिले घर भत्काएको छ, तर आशा भत्किन दिनु हुँदैन।
आजको आँसुबाटै भोलिको सुरक्षित नेपाल निर्माण गर्नुपर्छ।
भदौ १० गतेको त्यो बिहान नेपाली भूगोलका लागि एउटा कहालीलाग्दो दिन बन्यो। हिमालको काखबाट एकाएक उर्लिएको भोटेकोशीको भेलले रसुवाको धरातलमा विनाशको कथा लेख्दै तलतिर आफ्नो बाटो बनायो। केही क्षणमै नदी शान्त धाराबाट प्रलयको स्वरूपमा बदलियो। घर, पसल, सडक, पुल, खेतबारी र मानिसका वर्षौंका सपना आँखैअगाडि बग्न थाले।
रसुवाबाट सुरु भएको त्यो विनाशको यात्रा नुवाकोट र धादिङतर्फ फैलिँदै गयो। भोटेकोशी र त्रिशूली नदीका किनारमा बस्ने नागरिकहरूका लागि त्यो दिन केवल बाढीको दिन थिएन—त्यो जीवन र मृत्युबीचको संघर्षको दिन थियो। कतै घरको छानो मात्र बाँकी रह्यो, कतै सडक र पुलको नामोनिसान रहेन, कतै विद्यालयका कक्षाकोठा हिलो र बालुवाले पुरिए। रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूमा समेत ठूलो क्षति पुगेको विवरण सार्वजनिक भएको छ।
बाढीले भौतिक संरचना मात्र बगाएनस यसले परिवारका सपना, आमाबुबाका आशा र बालबालिकाका भविष्यमा समेत गहिरो चोट पुर्यायो। स्वास्थ्य सेवा, यातायात, सञ्चार र विद्युत् संरचनामा समेत गम्भीर असर परेको छ। हजारौँ परिवार तत्काल राहतको आवश्यकता पर्ने अवस्थामा पुगेका छन्।
तर विपत्तिको यही अँध्यारोबीच मानवताको उज्यालो पनि देखियो। सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी र स्वयंसेवकहरू आफ्नो ज्यानको पर्वाह नगरी उद्धार र राहतमा खटिए। हेलिकोप्टर आकाशमा उडे, उद्धारकर्मीहरू जोखिमपूर्ण बाटोमा अघि बढे र पीडितका आँखामा फेरि आशाको किरण जगाउने प्रयास भयो।
आज रसुवा, नुवाकोट र धादिङका घाइते भूगोलले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ—प्रकृतिको यस्तो प्रहारबाट हामीले कहिले पाठ सिक्नेरु
बाढी रोक्न सधैँ सम्भव नहोला, तर क्षति कम गर्न सकिन्छ। समयमै सूचना दिन सकिन्छ, जोखिमयुक्त बस्तीको पहिचान गर्न सकिन्छ, सुरक्षित पूर्वाधार बनाउन सकिन्छ र विपद् आउनुअघि नै नागरिकलाई तयार पार्न सकिन्छ। अब राहतसँगै पुनःस्थापना र पुनर्निर्माणको दृढ संकल्प आवश्यक छ।
बाढीले बगाएका घरहरू फेरि बनाउन सकिन्छ। भत्किएका पुल फेरि उठाउन सकिन्छ। उजाडिएका बस्तीमा फेरि जीवन फर्काउन सकिन्छ। तर गुमेको एउटा जीवन पनि फर्काउन सकिँदैन।
त्यसैले यो विपत्तिलाई केवल दुःखद् घटनाका रूपमा होइन, भविष्यका लागि एउटा कठोर पाठका रूपमा लिनुपर्छ। रसुवा, नुवाकोट र धादिङका पीडित नागरिकको आँसु पुछ्नु, उनीहरूको घरआँगनमा पुनः उज्यालो फर्काउनु र सुरक्षित भविष्य निर्माण गर्नु आज राज्य र समाज दुवैको साझा दायित्व हो।
बाढीले भूगोल बगाएको छ, तर हाम्रो साहस बग्न दिनु हुँदैन।
विपत्तिले घर भत्काएको छ, तर आशा भत्किन दिनु हुँदैन।
आजको आँसुबाटै भोलिको सुरक्षित नेपाल निर्माण गर्नुपर्छ।
लेखक समाजसेवी हुनुहुन्छ ।




