पोखरा । फ्लाइ दुबईले पोखरा–दुबई नियमित अन्तरराष्ट्रिय उडान सुरु गरेसँगै पोखराको पर्यटन क्षेत्रमा उत्साह देखिएको छ । उडान सुरु भएको चौथो दिन शनिबार पनि यात्रु चाप उत्साहजनक देखिएपछि पर्यटन व्यवसायी र सरोकारवालामा विमानस्थलको अन्तरराष्ट्रिय उडान विस्तार हुने आशा जागेको छ ।
शनिबार साँझ ६ः०५ बजे फ्लाइ दुबईको जहाज १५६ यात्रुसहित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सोही जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
यसअघि बिहीबार दुबईबाट १२२ यात्रु पोखरा आएका थिए भने पोखराबाट १४३ यात्रु दुबई गएका थिए । शुक्रबार भने खराब मौसमका कारण उडान रद्द भएको थियो । बुधबार भएको पहिलो उडानमा दुबईबाट ११३ यात्रु पोखरा आएका थिए भने फर्कँदा १५२ यात्रु दुबई गएका थिए ।
सुरुआती दिनमै देखिएको यात्रु चापले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले उडानको सुरुआती संकेत सकारात्मक रहेको बताउनुभयो ।
“यात्रुको बुकिङ पनि राम्रो छ, टुर्स एन्ड ट्राभल्स व्यवसायीहरू पनि खुसी हुनुहुन्छ,” उनले भने, “यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल र रेष्टुराँले छुट योजना ल्याएका छन् ।”
फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत दुबई–पोखरा–दुबई नियमित उडान सञ्चालन गरिरहेको छ । तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी रावतले जानकारी दिए ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तरराष्ट्रिय उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी बनेको छ । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय चार्टर उडान गरे पनि नियमित व्यावसायिक अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।
फ्लाइ दुबईको नियमित उडानसँगै दुबईलाई ट्रान्जिट बनाएर विभिन्न मुलुकबाट पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ । यसले पोखराको पर्यटनसँगै होटल, रेष्टुराँ, यातायात, रोजगारी र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेपछि फ्लाइ दुबईले नियमित उडान सुरु गरेको हो ।
विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि सरकारले विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो । नियमित उडानको सुरुआती यात्रु चापले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने प्रयासमा नयाँ सम्भावना देखाएको छ ।सौर्य अनलाइन




