काठमाडौँ। फिलिपिन्समा पानीजहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन् । फिलिपिन्सको तटरक्षक बलले यात्रुवाहक उक्त पानीजहाजमा आगलागी भएसँगै दुर्घटनामा परेको बताएका छन् ।
एमभी जुन एस्टर नामको उक्त पानीजहाजमा ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य सवार थिए । सो दुर्घटना पर्यटकमाझ चर्चित पलावन प्रान्तमा भएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ । पलावन आफ्ना सुन्दर टापुहरू तथा आइल्यान्ड हपिङ, स्नोक्र्लिङ र डाइभिङका लागि प्रसिद्ध छ ।
तटरक्षकले पूर्ण रूपमा आगोमा लपेटिएको उक्त पानीजहाजबाट केही मानिसलाई र पानीबाट केही यात्रुको उद्धार गरेका छन् । बेपत्ता यात्रुको खोजी जारी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
फिलिपिन्समा यस्ता समुद्री घटना बारम्बार हुने गर्छन् । सात हजार एक सय वटा टापुको देश फिलिपिन्समा अन्तरद्वीप पानीजहाज टापुहरूबिच मानिस र सामान ओसारपसार गर्ने सस्ता माध्यम हुन् । तीमध्ये केही टापुमा हवाईमार्गबाट पुग्न सम्भव छैन तर खराब मौसम, मनसुनी वर्षा र आँधीका कारण समुद्रमा ठुलो जोखिम हुने गर्छ ।
फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा आँधी आउने गर्छन्, जसले समुद्रमा ठुलो छाल र अशान्त अवस्था सिर्जना गर्छ ।
यसअघि सन् २०२३ मा देशको दक्षिणपश्चिम छेउमा एउटा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको थियो । अहिले भएको घटनामा ८७ जना बेपत्ता रहेकाले फिलिपिन्समा भएका गम्भीर समुद्री दुर्घटनामध्ये यो ठुलो दुर्घटना हुने समाचारमा जनाइएको छ ।




