Ad imageAd image
लोड हुँदैछ...

धनुषामा निषेधाज्ञा हटाइयो, जनजीवन सामान्य बन्दै

bardiyatimes

जनकपुरधाम, साउन १८ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाका केही क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि, जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख बनेको र जनजीवन सामान्य हुँदै गएको निष्कर्षका आधारमा निषेधाज्ञा हटाइएको हो।

शनिबार बिहान १० बजेदेखि लागू गरिएको निषेधाज्ञा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार बिहान ५ बजेदेखि हटाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएको निष्कर्ष निकालिएको जनाएको छ। साथै, शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनले सर्वसाधारणसँग सहयोगको आग्रह गरेको छ।

सुनसरीमा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवादको प्रभाव मधेश प्रदेशका जिल्लासम्म पुगेपछि धनुषामा साउन १४ गतेदेखि १६ गते बिहानसम्म कर्फ्यु आदेश जारी गरिएको थियो। त्यसपछि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो।

विवाद समाधानका लागि शनिबार गृहमन्त्री सुदन गुरुङ धनुषा पुगेर आन्दोलनकारीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो। त्यसलगत्तै जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि प्रशासनले निषेधाज्ञा हटाएको हो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with