काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
साथै, उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ ।
हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशको तराई भू-भागको थोरै स्थानमा, मधेस प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशको हिमाली भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधरणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।




