Ad imageAd image
लोड हुँदैछ...

औरहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

bardiyatimes

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा माछापालनका लागि सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’ मा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।

गाउँपालिका र प्रगतिशील कृषक समूहबिच १५ लाख रुपैयाँमा सम्झौता भएकोमा माछाको भुरा, दाना, चन र कृषि सामाग्री वितरण नै नगरी पुरा काम भएको भनी ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको छ । उनीहरू चारै जनासँग जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आयोगका अनुसार तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी ओहदा र अधिकारको दुरुपयोग गरी सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने र विवरण हेरफेर गर्ने कार्य गरेको समेत पाइएको छ । यसका लागि उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको माग गरिएको छ ।

त्यसैगरी, कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीहरूसँगको मिलेमतोमा गैरकानूनी लाभ लिने बदनियत राखेर भ्रष्टाचारको मतियार बनेको अभियोगमा उनीविरुद्ध पनि मुख्य अभियुक्त सरहकै सजाय र बिगो असुलको मागदाबी लिई मुद्दा दायर गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with