Ad imageAd image
लोड हुँदैछ...

३ ठाउँ भासिँदा पृथ्वी राजमार्ग ठप्प, खोल्न कम्तीमा १५ दिन लाग्ने

bardiyatimes

चितवन । गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीमा बढेको बहावले पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्ड छियाछिया बनेको छ । यो सडकखण्डमा ३ ठाउँमा सडक भासिएको छ । नदीको कटानले कृष्णभीर, शीतलबजार र परेवाभीरमा सडक ध्वस्त भएको हो । मुग्लिनबाट काठमाडौँ जाँदा करिब २३ किलोमिटर दुरीमा रहेको कृष्णभीरमा सबैभन्दा ठुलो क्षति पुगेको छ । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर शचेन्द्र मिश्रका अनुसार यहाँ करिब २०० मिटर सडक भासिनुका साथै सडकभन्दा माथिको डाँडोसमेत चिरिएको छ । नदी किनारमा बनाइएको रिटेनिङ वाल गेग्रानसहितको बाढीले बगाएर नामोनिसान छैन ।

यस्तै, मलेखुबाट करिब ३ किलोमिटर मुग्लिनतर्फ रहेको शीतलबजारमा करिब ५० मिटर र मलेखु पुलबाट करिब १ किलोमिटर काठमाडौँतर्फको परेवाभीरमा करिब १०० मिटर सडक भासिएको छ । परेवाभीरको सडक कालोपत्रसम्मै भासिएपछि थप जोखिमका कारण अत्यावश्यकबाहेक सवारी आवागमन रोकिएको छ । आयोजनाका अनुसार त्रिशूलीले यस वर्ष धार परिवर्तन गरी सडकतर्फको किनारमा बढी कटान गरिरहेको छ । नदीको बहाव घटबढ भइरहेकाले सडकको फेदमा कटान जारी छ । चट्टानी भागमा प्रभाव कम भए पनि कमजोर भूभागमा कटान बढेको छ ।

शीतलबजार र परेवाभीरमा तत्काल मर्मत गरेर सडक सञ्चालन गर्न सकिने भए पनि कृष्णभीरमा भने तत्काल यातायात सञ्चालन गर्न कठिन छ । शीतलबजारमा भित्तो काटेर सडक सञ्चालन गर्ने तथा परेवाभीरमा भित्तोको केही भाग काट्दै तल सम्याएर सडक खुलाउने तयारी भइरहेको छ । सडकछेउका बिजुलीका पोलसमेत सार्ने तयारी रहेको आयोजनाले जनाएको छ । सडक विभागले कृष्णभीरलाई उच्च प्राथमिकतामा राखेर प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली परिचालन गरेको छ । विभागका सहसचिव चुणाराज ढकालका अनुसार बाढीको ठुलो बहावले सडकको तल्लो भाग कटान गर्नुका साथै माथिल्लो भूभागमा चिरा परेपछि पहिरो खसेको हो । विज्ञको प्राविधिक रायका आधारमा सम्भव भएसम्म १५ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

सडक विभागका अनुसार कृष्णभीरमा पुरानै स्लोप फेलियर भएको क्षेत्रमा पहिरो दोहोरिएको हो । तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको विभागको भनाइ छ । कृष्णभीर तत्काल सञ्चालनमा ल्याउन नसकिने भएपछि गोरखातर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययनसमेत अघि बढाइएको सरकारले जनाएको छ । उपयुक्त स्थानीय सडकलाई मर्मत–सम्भार गरी वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने तयारी छ ।

संघीय राजधानीको लाइफलाइन मानिने पृथ्वी राजमार्गको उक्त खण्डबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्दै आएका थिए । सडक विभागले नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउन सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रूट विकास गर्ने, अग्ला पुल र आवश्यक स्थानमा साना सुरुङ निर्माण गर्ने नीति आवश्यक रहेको भन्दै त्यसतर्फ अध्ययन र तयारी अघि बढाएको छ ।सौर्य अनलाइन

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with