Ad imageAd image
लोड हुँदैछ...

देशभर रेबिजविरुद्धको खोप वितरण सुरु

bardiyatimes

काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रेबिज रोगविरुद्धको खोप सातै प्रदेशमा पठाउन सुरु गरिएको जनाएको छ।

महाशाखाका अनुसार स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियामार्फत प्राप्त खोपको पहिलो खेप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा पठाउन थालिएको हो। आवश्यकताका आधारमा प्रदेशहरूमा पठाइने खोप सम्बन्धित स्वास्थ्य संस्थासम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै खोपको शीघ्र वितरण र सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन आवश्यक प्रबन्ध मिलाइरहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले कुकुर, बिरालो वा अन्य रेबिज संक्रमित जनावरले टोकेको वा चिथोरेको अवस्थामा तत्काल सावधानी अपनाउन पनि आग्रह गरेको छ। त्यस्तो अवस्थामा घाउलाई तुरुन्तै साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्ने र त्यसपछि नजिकैको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार आवश्यक उपचार तथा रेबिजविरुद्धको खोप लगाउनुपर्ने बताइएको छ।

रेबिज १०० प्रतिशत रोकथाम गर्न सकिने रोग भए पनि एकपटक लक्षण देखिएपछि प्रायः शतप्रतिशत मृत्यु हुने भएकाले जोखिमपूर्ण जनावरले टोकेपछि उपचारमा ढिलाइ नगर्न महाशाखाले सर्वसाधारणलाई अपिल गरेको छ।

समयमै घाउको उचित सरसफाइ, चिकित्सकीय परामर्श र रेबिजविरुद्धको खोप नै यस रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको महाशाखाको भनाइ छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with