Ad imageAd image
लोड हुँदैछ...

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह

bardiyatimes

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ ।  देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिए  । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसमविद् लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुनसक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गरे । उनले विशेष गरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गरे । 

उनले भने, ‘ कसान सर्वसाधारणहरूले धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनुहोला । अहिले नेपालको पूर्वी भूभागबाट चाहिँ बिस्तारै अलि क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ । र केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ । त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी पश्चिमी क्षेत्रहरूमा लगातार यी ३-४ दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलिसम्मको लागि रहेको हुनाले त्यो क्षेत्रहरू बढी जोखिम हुनेछ ।’

यस्तै, नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई जलसतह बढ्दा थप सजग रहन भनिएको छ । स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न विभागले जोड दिएको छ । विपद्को समयमा सूचनाको पहुँच महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न र कुनैपनि जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with