काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अन्तिम नामावली प्रकाशनसँगै निर्वाचनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या ७ हजार ११४ कायम भएको छ ।
निर्वाचन समितिका अनुसार आज बिहान ९ः३० बजे मतदाता नामावली प्रकाशनउपर दाबी–विरोधको समय तोकिएको थियो । त्यसपछि बिहान ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी ११ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी, उम्मेदवार मनोनयन दर्ताका लागि फारम वितरण तथा दिउँसो १२ः३० देखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच, कांग्रेसको सोमबार बसेको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार यसपटकको निर्वाचन हुने कांग्रेसले जनाएको छ ।
महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न स्वयंसेवक परिचालन गरिएको हो ।
कांग्रेस केन्द्रीय सदस्य तथा स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार बन्दसत्र तथा निर्वाचनस्थलमा प्रतिनिधिको सहजताका लागि २०० भन्दा बढी स्वयंसेवक खटाइएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब ७ हजार ५०० प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।
आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज र भोलि बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् ।




