काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग महिनौँदेखि जारी युद्धमा अमेरिकाका मुख्य दुई लक्ष्य रहेको बताएका छन् ।
‘फक्स न्युज’का प्रस्तोता विल केनसँग कुरा गर्दै उनले अमेरिकाको पहिलो लक्ष्य हर्मुज जलमार्ग लामो समयदेखि बन्द रहेका कारण प्रभावित विश्व अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउनु र दोस्रो लक्ष्य इरानलाई परमाणु हतियार बनाउनबाट रोक्नु रहेको बताए ।
भान्सका अनुसार पहिलो लक्ष्य खाडी मुलुकहरूले विश्व अर्थतन्त्रमा तेल र ग्यास पठाइरहन सकुन् र ऊर्जाको मूल्यमा स्थिरता कायम रहोस् भन्ने हो । उनले अमेरिकी नागरिकका लागि तेल र ग्यासको मूल्य सस्तो र स्थिर राख्नु अमेरिकाको प्रमुख प्राथमिकता रहेको बताए ।
“स्पष्ट रूपमा, दोस्रो लक्ष्य भनेको इरानले कहिल्यै परमाणु हतियार प्राप्त नगरोस् भन्ने सुनिश्चित गर्नु हो,” भान्सले भने । आफूहरूले यी दुवै लक्ष्य हासिल गरिरहेको दाबी गर्दै उनले इरानको व्यवहार अप्रत्याशित रहेकाले परिस्थिति पनि अनिश्चित रहेको बताए ।
उनका अनुसार इरानले यसअघि अमेरिकासँग गरेका प्रतिबद्धता पालना नगरेका कारण युद्धको अन्त्यबारे निश्चित अनुमान गर्न कठिन छ ।
अमेरिका–इरान शान्ति वार्ता रोकिएको अवस्थामा प्रस्तोता केनले युद्धको अस्थिर प्रकृति र यसको सम्भावित अन्त्यबारे प्रश्न गरेका थिए । जवाफमा भान्सले युद्धको अन्त्य अमेरिकाको बलियो स्थितिमा, इरान परमाणु हतियारविहीन अवस्थामा र होर्मुज जलमार्ग पुनः खुला भएर अमेरिकी नागरिकका लागि तेल तथा ग्यासको मूल्य स्थिर रहने अवस्थामा हुने बताए ।
भान्सले इरानसँगको द्वन्द्वमा वासिङ्टनका मुख्य उद्देश्य अमेरिकी नागरिकका लागि ऊर्जाको मूल्य स्थिर राख्नु, इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नु र अमेरिकाको रणनीतिक स्थितिलाई थप मजबुत बनाउनु रहेको बताएका छन् ।
यसैबीच, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी अनिश्चितकालसम्म जारी राख्न सक्ने बताएका छन् ।




