Ad imageAd image
लोड हुँदैछ...

अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता

bardiyatimes

होमेन्द्र थापा,
बर्दिया,भदौ २७ गते.जिल्ला प्रशासन कार्यालय बर्दियाले कार्यालयसम्म पुगेर सेवा लिन नसक्ने पूर्ण अपाङ्गता भएका नागरिकलाई घरदैलोमै पुगेर सरकारी सेवा उपलब्ध गराउने अभियानअन्तर्गत गुलरिया नगरपालिका–११ का मोहम्मद सबाज गद्दीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीको नेतृत्वमा वडा अध्यक्षसहितको टोलीले गद्दीको निवासमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । घरमै नागरिकता पाएपछि गद्दीका परिवारजनले जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेका छन् ।
नागरिकता हस्तान्तरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा सहज रूपमा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
मोहम्मद सबाज गद्दी कमरुद्धिन गद्दी र अनिषा गद्दीका जेठा छोरा हुन् । २०६६ साल असार २५ गते जन्मिएका गद्दी जन्मजात नै पूर्ण अपाङ्गता अवस्थामा रहेको परिवारले जनाएको छ । तीन छोरा र एक छोरीमध्ये मोहम्मद सबाज जेठा छोरा रहेको उनका बुबा कमरुद्धिन गद्दीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले अशक्त, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी घरदैलोमै पुगेर सेवा प्रवाहलाई प्राथमिकता दिएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालका अनुसार पछिल्लो तीन महिनामा दुई जना नागरिकलाई घरमै पुगेर सेवा प्रदान गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with