होमेन्द्र थापा
बर्दिया÷समयसँगै नेपाली समाजको पारिवारिक संरचना परिवर्तन हुँदै गएको छ। रोजगारी, बसाइँसराइ, बदलिँदो जीवनशैली र व्यक्तिगत स्वतन्त्रताको चाहनाले संयुक्त परिवारको परम्परा क्रमशः कमजोर बन्दै गएको छ। यस्तो अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–१२, भैसाही गाउँमा भने संयुक्त परिवारको एउटा अनुकरणीय उदाहरण अझै कायम छ।
जगमोहन थारुको ४७ सदस्यीय परिवार अहिले पनि एउटै सगोलमा बस्दै आएको छ। परिवारका सदस्य एउटै छानामुनि मात्र होइन, एउटै चुलोमा पाकेको खाना खान्छन्। चार पुस्तासम्म फैलिएको यो परिवारले पारिवारिक एकता र सहकार्यको परम्परालाई निरन्तरता दिँदै आएको छ।
चिम्मन थारु र बैधिया थरुनीका चार छोराका सन्तानबाट विस्तार भएको यो परिवार वि।सं। २०१८ सालदेखि हालसम्म एउटै सगोलमा बस्दै आएको हो। परिवारका सदस्य बस्न र सुत्नका लागि ६ वटा घरमा १४ वटा कोठा छन्। १५ जना बुहारीमध्ये दुई–दुई जनाले पालैपालो भान्साको जिम्मेवारी सम्हाल्दै आएका छन्।
ठूलो परिवारलाई सँगै राख्न चुनौती भए पनि आपसी समझदारी, जिम्मेवारी बाँडफाँट र विश्वासका कारण समस्या नआएको जगमोहन थारुको अनुभव छ। उनका अनुसार संयुक्त परिवारमा सुख–दुःखमा एकअर्काको साथ पाइन्छ। कामको जिम्मेवारी बाँड्न सहज हुन्छ र परिवारका सदस्यको आम्दानीलाई साझा रूपमा परिचालन गर्दा आर्थिक अवस्था पनि बलियो बनाउन सकिन्छ।
परिवारका सदस्यले आफ्नो क्षमता र रुचिअनुसार खेतीपाती, व्यापार–व्यवसाय, बाख्रापालन तथा घरायसी काम गर्दै आएका छन्। महत्वपूर्ण निर्णय पनि व्यक्तिगत रूपमा नभई सामूहिक छलफलबाट हुने गरेको छ। परिवारसँग १९ बिघा जग्गा रहेको छ। सरकारी सेवामा परिवारका कुनै सदस्य नरहे पनि कृषि, पशुपालन, व्यापार तथा आफ्नै श्रमलाई जीविकोपार्जनको आधार बनाएर परिवार अघि बढिरहेको छ।
यो परिवारमा काखे बालबालिकादेखि विद्यालय तथा कलेज पढ्ने युवा, व्यवसायमा संलग्न सदस्य र ज्येष्ठ नागरिकसम्म छन्। एउटै परिवारमा विभिन्न पुस्ताका सदस्य रहँदा पुस्तान्तरण हुने ज्ञान, संस्कार र अनुभवले पनि पारिवारिक सम्बन्धलाई थप बलियो बनाएको देखिन्छ।
पछिल्लो समय संयुक्त परिवारबाट अलग भएर एकल परिवारमा बस्ने प्रवृत्ति बढ्दो छ। रोजगारीका अवसर, विदेश पलायन, सहरी जीवनशैली र व्यक्तिगत स्वतन्त्रताको चाहनाले परिवारलाई सानो एकाइमा सीमित गर्दै लगेको छ। यस्तो परिवेशमा ४७ सदस्यीय परिवारले दशकौँदेखि सगोलको जीवनलाई निरन्तरता दिनु आफैँमा उल्लेखनीय उदाहरण हो।
तर संयुक्त परिवारको अर्थ एउटै घरमा बस्नु मात्र होइन। आपसी विश्वास, सम्मान, जिम्मेवारीको बाँडफाँट र साझा निर्णयको संस्कारले मात्र ठूलो परिवारलाई एकताबद्ध राख्न सक्छ। गुलरिया–१२ को थारु परिवारले यही व्यवहारबाट संयुक्त परिवारको वास्तविक अर्थ देखाएको छ।
परिवार टुक्रिँदै गएको वर्तमान सामाजिक परिवेशमा जगमोहन थारुको परिवारको अभ्यास परम्पराको निरन्तरता मात्र होइन, सहकार्य, आत्मनिर्भरता र पारिवारिक एकताको जीवन्त उदाहरण पनि हो। एउटै चुलोमा पाकेको खाना र एउटै सगोलमा बाँडिएको सुख–दुःखले ठूलो परिवारलाई बोझ होइन, शक्ति बनाउन सकिन्छ भन्ने सन्देश यस परिवारले दिएको छ।

४७ सदस्यीय परिवार, एउटै चुलोमा सगोलको संसार
Leave a Comment



