Ad imageAd image
लोड हुँदैछ...

शिक्षक महासंघको अल्टिमेटम: सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन

bardiyatimes

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति कार्यान्वयन नभए आगामी भदौ महिनादेखि पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले विगतमा भएका सहमति कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै आवश्यक परे भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षकसँग गरेका प्रतिबद्धता पूरा नगरे अघिल्लो आन्दोलनभन्दा अझ व्यापक सहभागितासहित सडक आन्दोलन गर्ने चेतावनी दिए। उनले आन्दोलनका कार्यक्रम थप छलफलपछि सार्वजनिक गरिने जानकारी दिए।

शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सुवेदीले सरकारले सहमति कार्यान्वयनमा ढिलाइ गरेको आरोप लगाए। उनका अनुसार शिक्षा ऐन जारी नगरेसम्म शिक्षकहरूको आन्दोलन रोकिने छैन।

यसअघि शिक्षकहरूले २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका थिए। २९ दिनसम्म चलेको आन्दोलनपछि २०८२ वैशाख १७ गते सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको थियो।

तर, सहमतिपछि पनि सरकारले शिक्षा ऐन ल्याउन नसकेको भन्दै महासंघले पुनः आन्दोलनको बाटो रोज्ने निर्णय गरेको हो। शिक्षक महासंघले सरकारलाई तत्काल सहमति कार्यान्वयन गरी शिक्षा ऐन जारी गर्न आग्रह गर्दै अन्यथा आन्दोलन अपरिहार्य हुने चेतावनी दिएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with