Ad imageAd image
लोड हुँदैछ...

मौसम पूर्वानुमान महाशाखाको अनुरोधः भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्

bardiyatimes

काठमाडौँ।  नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी बिहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै  हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ ।

विभागले सोमबार बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागक अनुसार बङ्गालको खाडीमा रहेको उक्त चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ । यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ ।

बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ ।

कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुनसक्न विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउने कार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ । रासस

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with