Ad imageAd image
लोड हुँदैछ...

माओलाई ‘तानाशाह’ भनेपछि एमबाप्पेद्वारा माफी

bardiyatimes
A woman walks by an advertisement featuring French soccer star Kylian Mbappé in Shanghai, China on June 30, 2026. (Chinatopix Via AP) CHINA OUT

बेइजिङ।चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी माग्नुभएको छ । उहाँको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् भने चिनियाँ फुटबल सङ्घ र सरकारी सञ्चारमाध्यमले पनि आपत्ति जनाएका छन् ।

एमबाप्पेले मङ्गलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत भएको र त्यसले चीन तथा विश्वभरका चिनियाँ समुदायका मानिसको भावनामा चोट पु¥याएको स्वीकार गर्नुभयो । उहाँले चिनियाँ जनता र उनीहरूको इतिहासप्रति सम्मान रहेको बताउँदै माफी माग्नुभएको छ ।

पेय पदार्थ उत्पादक डोङपेङ, दुग्ध कम्पनी मेङनियू र चीज उत्पादक मिल्कग्राउन्डले उहाँसँगको सम्झौता अन्त्य गरिरहेका छन् । फ्रान्सेली अनलाइन कार्यक्रम ‘द ब्रिज’ मा प्रसारित एउटा भिडियोमा एमबाप्पेले आफ्नो मनपर्ने मीमबारे बोल्दा माओलाई चिनियाँ तानाशाहका रूपमा उल्लेख गर्नुभएको थियो ।

चाइना फुटबल एसोसिएसनले स्पेनिस क्लब रियल म्याड्रिड र एमबाप्पे दुवैलाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ । चाइना मिडिया ग्रुपले उहाँ सहभागी खेलको प्रसारण रोक्नुका साथै विज्ञापन हटाएको जनाएको छ । ला लिगाले चिनियाँ समर्थकप्रति खेद व्यक्त गर्दै टिप्पणी एमबाप्पेको व्यक्तिगत धारणा भएको स्पष्ट पारेको छ ।

ला लिगाका अध्यक्ष जेभियर तेबासले चीनसँगको व्यावसायिक साझेदारी जोगाउन चिनियाँ राजदूतसँग छलफल गर्ने बताउनुभएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चिनियाँ जनताको भावनामा चोट पु¥याउने व्यवहारले व्यापक विरोध सामना गर्नुपर्ने बताउनुभयो ।

चिनियाँ सामाजिक सञ्जाल रेडनोटले पनि एमबाप्पेसँग सम्बन्धित प्रचार सामग्री हटाउने जनाएको छ । वेइबोमा उहाँसँगको साझेदारी अन्त्य गर्न माग गर्दै ह्यासट्याग लोकप्रिय बनेका छन् । केही प्रयोगकर्ताले उहाँको बहिष्कार गर्नुपर्ने मागसमेत गरेका छन् ।

चीनमा विज्ञापनमा नियमित देखिँदै आउनुभएका एमबाप्पेको घटनाले विदेशी खेलाडीका सार्वजनिक टिप्पणीले व्यावसायिक सम्बन्धमा पार्न सक्ने प्रभाव देखाएको छ । सन् २०१९ मा ह्युस्टन रकेटका तत्कालीन महाप्रबन्धक डेरिल मोरेले हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरेपछि चिनियाँ सरकारी टेलिभिजनले एनबीए खेल प्रसारण रोकेको थियो । रासस/एपी 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with