काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भागमा आंशिक बदली भएको छ । तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । देशका अन्य हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने छ । तराईका भागमा मौसम मुख्यतया सफा रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।




