Ad imageAd image
लोड हुँदैछ...

साउदी नेतृत्वको गठबन्धनद्वारा हुथीका १३६ सैन्य निसाना ध्वस्त पारेको दाबी

bardiyatimes

रियाद। यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल-मालिकीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इरानसमर्थित हुथी समूहका लडाकु र सैन्य क्षमतालाई लक्षित गरी कारबाही गरिएको जानकारी दिनुभएको हो ।

हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबिच जुलाईमा पुनः चर्किएको द्वन्द्व त्यसयता साउदी अरबसम्म फैलिएको छ । हुथीको अल-मसिराह टेलिभिजन च्यानलले साउदी क्षेप्यास्त्रले उत्तरपश्चिमी यमनको सादा प्रान्तका विभिन्न क्षेत्रलाई निसाना बनाएको जनाएको छ । लालसागरको तटीय क्षेत्रको ठूलो भू-भाग नियन्त्रणमा राख्दै आएका हुथी विद्रोहीले साउदी अरबका यातायात केन्द्र, तेलसम्बन्धी पूर्वाधार तथा अन्य नागरिक संरचनामा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गर्दै आएका छन् ।

साउदी अधिकारीका अनुसार बिहीबार रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । हुथीले पनि सोही दिन विमानस्थलमा आक्रमण गरेको दाबी गरेका थिए । यसैबिच, हुथी सञ्चारमाध्यमका अनुसार यमनको हुथी-नियन्त्रित राजधानी सानास्थित विमानस्थलमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

विश्वव्यापी जल यातायातका लागि महत्वपूर्ण मानिने बाब अल-मान्दब जलसन्धि आसपासका क्षेत्र पुनः नियन्त्रणमा लिने प्रयासमा साउदी नेतृत्वको गठबन्धन र यमनी सरकारी सेना जुटिरहेका छन् । तर, हुथी विद्रोहीको सैन्य प्रगतिलाई रोक्न तथा उनीहरूले कब्जा गरेका क्षेत्र फिर्ता लिन सरकारी पक्षलाई कठिनाइ भइरहेको छ । रासस/एएफपी 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with