Ad imageAd image
लोड हुँदैछ...

एमालेमा ओलीको विकल्प खोज्ने कोसिस ‘क्लोज’

bardiyatimes

काठमाडौँ । नेकपा एमालेमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको चर्को नारा लगाउने पक्ष अन्ततः गलेको छ । सचिवालय बैठकले पार्टी पुनर्गठनका लागि सुझाव दिन कार्यदल नै गठन गरेको थियो । तर, ओलीले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा उभिएका नेताहरू अन्ततः नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी गर्दै अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गर्न बाध्य भएका हुन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकले बुधबार ओलीको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो । बैठकको पहिलो दिन सोमबार अध्यक्ष ओलीले ‘पार्टीको पुनर्निमाण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प’ नाम दिएर प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिदेनमाथि मंगलबारदेखि पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बुधबारको बैठकमा उनको प्रतिवेदन सर्वसम्मत पारित भएको घोषणा गरिएको हो ।

ओलीको प्रतिवेदन पारित भएसँगै एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दा टुंगिएको छ । ओलीले प्रतिवेदनमै नेतृत्व छाडेर आत्मसर्मण नगर्ने स्पष्ट पारेका थिए । राष्ट्रिय महाधिवेशनपछिको सर्वोच्च निकाय केन्द्रीय कमिटीले ‘अध्यक्षले पद छाड्नुनपर्ने’ प्रतिवेदन पारित गरेसँगै पार्टी पुनर्गठनको मुद्दा संस्थागत बन्न नसकेको हो ।

पार्टी पुनर्गठनको मुद्दा कमजोर

ओलीको राजनीतिक प्रतिवेदन पारित भएसँगै पार्टी पुनर्गठनको मुद्दा कमजोर बनेको छ । पार्टी पुनर्गठनको पक्षधर पदाधिकारी तहका नेताहरू नै पार्टीको नेतृत्व परिवर्तन र पुनर्गठनको पक्षमा दृढतापूर्वक उभिन नसकेपछि उनीहरूले बोकेको मुद्दा रक्षात्मक अवस्थामा पुगेको हो । निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनले नेतृत्व परिवर्तनसहितको पुनर्गठन हुनुपर्ने सुझाव दिए पनि उक्त प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकमै प्रस्तुत गरिएन ।

केन्द्रीय सदस्यहरूले उक्त प्रतिवेदनमा छलफल गर्नुपर्ने माग राखे पनि तेस्रो दिनसम्म आइपुग्दा कार्यदलको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने र त्यसैको सुझावअनुसार पुनर्गठन गर्नुपर्ने मत न्यून देखिएको थियो । बुधबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष ओलीको विकल्प नभएको धारणा राखे । यद्यपि पदाधिकारीको तहबाट सचिव योगेश भट्टराईले भने ओलीको नेतृत्वबाट एमाले अघि बढ्न नसक्ने भन्दै उनको विकल्प खोज्नुपर्ने धारणा लिखित रूपमा ओलीलाई बुझाएका छन् ।

ओलीकै नेतृत्वमा पार्टी एकताबद्ध बनाउनुपर्नेमा जोड

बुधबार बोल्ने अधिकांश नेताले पार्टीमा ओलीको विकल्प खोज्नु नहुनेमा जोड दिए । उनीहरूले पुनर्गठन भनेको केवल ओलीलाई अध्यक्षबाट हटाउनु मात्रै नभएको भन्दै पुनर्गठनको विषयलाई समग्रतामा सोच्नुपर्ने बताए ।

नेता प्रदीप ज्ञवालीले सम्पूर्ण समस्याको कारक पार्टी अध्यक्ष भएको र उनलाई विस्थापन नगर्दासम्म पार्टी अगाडि बढ्दैन भन्ने तर्कले पार्टीभित्र तलैसम्म कित्ताकाट गर्दै अस्वस्थता सिर्जना भएको बताए । उनले पुनर्गठनको बहस भनेकै पार्टी विभाजनका लागि हो जस्तो भएको भन्दै कार्यदलको प्रतिवेदनलाई आधार मानेर पार्टीलाई एकताबद्ध बताउनुपर्ने बताए ।

उनले पार्टी एकताको अगुवाई अध्यक्ष केपी शर्मा ओली स्वयंले गर्नुपर्ने पनि बताए । ज्ञवालीले पार्टीमा सबैभन्दा धेरै अवसर पाएकाहरू नै असन्तुष्ट रहेका भन्दै त्यसको कारण को हो ? भन्दै कटाक्षसमेत गरे । ‘सबैभन्दा धेरै अवसर पाएकाहरू नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? अवसर प्राप्ति नै राजनीतिको मुख्य विषय हो भन्ने सन्देश सम्प्रेषित भएर हो कि अवसर दिँदा सही मूल्यांकन नभएर हो ?’ उनको भनाइ थियो ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल बनाउने निर्णय नै गलत भएको भन्दै यसले तलसम्म कार्यकर्तालाई २ ध्रुवमा विभाजित गरेको बताइन् । उनले कार्यदलले बनाएको प्रतिवेदन सार्वजनिक गर्ने अवस्था किन आएन ? भन्दै कार्यदलको प्रतिवेदन अध्यक्ष वा पदाधिकारीले स्वीकार नगर्नु नै कार्यदलको औचित्य नभएको पुष्टि भएको जिकिर गरिन् ।

केन्द्रीय सदस्य सूर्य थापाले २ कार्यकाल र ७० बर्से उमेर हद कुनै रामवाण उपचार नभएको भन्दै नेतृत्व परिवर्तन मात्र समाधान नभएको बताए । यदि त्यसो हो भने पहिलो र दोस्रो पुस्ता तथा सचिवालयका सबैले तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्ने उनको भनाइ थियो ।

‘पार्टी अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ भन्ने प्रस्ताव विभिन्न तहका बैठक र ११औँ महाधिवेशनको ७५ प्रतिशत मतबाट अस्वीकृत भइसकेपछि त्यसलाई निरन्तर मिडियामा लगेर माहोल बनाउन खोज्ने कार्य उचित होइन,’ उनले भने, ‘पार्टीलाई अन्त्यहीन बहसको डिबेट क्लबजस्तो बनाउनु हुँदैन । व्यक्ति मन पर्ने वा नपर्ने हुन्छ, तर महाधिवेशनको फैसला, विधि र पद्धतिको कार्यान्वयन हरेकका लागि स्वेच्छिक नभएर बाध्यकारी हुनुपर्छ ।’

एक मात्रै पदाधिकारीले मागे ओलीको मार्गप्रशस्ती

१९ सदस्यीय पदाधिकारीमा सचिव योगेश भट्टराईले मात्रै अध्यक्ष पदबाट ओलीको मार्गप्रशस्ती खोजेका छन् । उनले लिखित रूपमा आफ्नो धारणा अध्यक्ष ओलीलाई बुझाउँदै ओलीले नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । उनले नेतृत्व हस्तान्तरण कुनै व्यक्ति विशेषलाई हटाउने वा स्थापित गर्ने प्रश्न मात्र नभएर पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको ऐतिहासिक प्रश्न भएको उल्लेख गरे ।

केन्द्रीय कमिटीको बैठक आज बिहीबार दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको छ । त्यसअघि बिहान १० बजे केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने एमालेको तयारी छ ।सौर्य अनलाइन विक्रम रत्न

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with