काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २९० शव तथा मानव अंग फेला परेका छन् । तीमध्ये ९२६ शव जमिनमा गाडेर व्यवस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शव तथा मानव अंगमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषका छन् । ५३२ वटा आंशिक मानव अंग फेला परेका छन् । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका दुई जनाको विवरणसमेत फेला परेका शवको विवरणमा समावेश गरिएको छ ।
फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका १ हजार १४१ जनाको विवरण पहिचानका लागि प्रहरीको वेबसाइटमा राखिएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
हालसम्म १ हजार १४३ मृतक र उनीहरूका ७१९ आफन्तबाट गरी १ हजार ८६२ डीएनए नमुना संकलन गरिएको छ । संकलित नमुनाका आधारमा शवको पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
४ हजार ७९८ अझै बेपत्ता
प्रहरीका अनुसार बाढीमा परी अझै ४ हजार ७९८ जना बेपत्ता छन् । बेपत्तामध्ये २ हजार ८४७ जना नेपाली नागरिक छन् । यसमा २ हजार ३६९ पुरुष र ४७८ महिला छन् ।
यस्तै, फोनमार्फत १ हजार ३५० जनाको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । बेपत्ताको सूचीमा ६०१ जना विदेशी नागरिकसमेत छन् ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १२७ जनाको उद्धार तथा घाइते र प्रभावितको व्यवस्थापन गरिएको छ । उद्धार गरिएकामध्ये ७ हजार ९० जना नेपाली नागरिक छन् । तीमध्ये ४ हजार ६५८ पुरुष र २ हजार ४७२ महिला छन् ।
विदेशी नागरिकतर्फ १ हजार १०७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ९०३ पुरुष, १५२ महिला र ५२ जनाको लिंग नखुलेको विवरण प्रहरीले दिएको छ ।
उद्धार गरिएकामध्ये ३ हजार ६३१ जना विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
७ हजार ९३२ प्रहरी परिचालित
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट मात्रै ७ हजार ९३२ जनशक्ति खोज, उद्धार तथा राहतमा परिचालित छन् । उद्धार तथा राहत कार्यमा खटिएका ६५ जना प्रहरीसमेत प्रभावित भएका छन् । २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बेपत्ताको खोजी तथा जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको छ । उद्धारसँगै प्रभावित तथा विस्थापितलाई सुरक्षित स्थानमा राख्ने र आवश्यक राहत उपलब्ध गराउने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।
४१ हजारभन्दा बढीलाई सचेतना
बाढी तथा विपद्को जोखिमबारे सचेतना फैलाउन प्रभावित क्षेत्र र आसपासमा १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । प्रहरीका अनुसार ती कार्यक्रममा ४१ हजार ७२६ जना सहभागी भएका छन् ।
भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको छ । अहिले बेपत्ताको खोजी, शवको पहिचान तथा व्यवस्थापन र प्रभावितको पुनःव्यवस्थापनलाई प्राथमिकतामा राखेर उद्धार तथा राहत कार्य जारी राखिएको छ ।




