Ad imageAd image
लोड हुँदैछ...

भोटेकोशी बाढीः खोज तथा उद्धार तीव्र, २३ जनाको उद्धार

bardiyatimes

काठमाडौँ।भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले मङ्गलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा समेत विदेशी विज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ । चिलिमे हाइड्रोपावरको सुरुङमा टोली करिब ५० मिटरभित्र प्रवेश गरी खोजी गरेको छ ।

त्यस्तै, लाङटाङ हाइड्रोपावरको सुरुङमा करिब १५० मिटर र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा करिब २०० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरिएको नेपाली सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेल हेड फेला पारी कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ । सुरुङभित्र जमेको पानी निकाल्ने कार्यसमेत जारी छ । यसका साथै तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ । रक ब्रेकरको प्रयोग गरी सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन ढुङ्गा फुटाउने काम भइरहेको छ ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा समेत विज्ञसहितको टोली खटिएको छ । टोलीले सुरुङमा प्रवेश गर्ने द्वार पत्ता लगाई एक्स्काभेटरको प्रयोग गरेर खन्ने काम गरिरहेको छ ।

यसअघि बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये रसुवागढीबाट दुई, अपर त्रिशूली–१ बाट ३३, अपर त्रिशूली–३ ‘ए’ बाट २२१, अपर त्रिशूली–३ ‘बी’ बाट दुई, मैलुङबाट नौ, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन र देवघाट जलविद्युत् आयोजनाबाट पाँच जना रहेका छन् ।

नौ हजारभन्दा बढी सैनिक परिचालन
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने तथा उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने काम भइरहेको छ ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै पूर्वी नवलपरासीका प्रभावित क्षेत्रसम्म नौ हजार दुई सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन् । उनीहरूले समन्वयात्मक रूपमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा निःसंक्रमण
बाढी प्रभावित क्षेत्रलाई स्वच्छ तथा निःसंक्रमित बनाउने उद्देश्यले विभिन्न स्थानमा निःसंक्रमणको कामसमेत भइरहेको छ ।

धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र तथा सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनमा निःसंक्रमण गरिएको नेपाली सेनाले जनाएको छ ।

अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा निःसंक्रमणको कार्य अघि बढाइने जनाइएको छ ।

गोरखापत्र अनलाइन

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with