मुना साउद
धनगढी । कृषि विषय पढेका अछामका रोशन साउद र दशरथ साउद ७ वर्षदेखि धनगढी–९ मा व्यावसायिक फूल खेती गरिरहेका छन् । धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानमा २ बिघा जग्गा भाडामा लिएर व्यावसायिक पुष्पखेती सुरू गरेका साउद दाजुभाइले यो वर्ष सयपत्री फूल रोपेका छन् । अछामको मेल्लेख गाउँपालिका घर भएका साउद दाजुभाइले कपिलवस्तुका भास्कर पंगेनीसँग मिलेर धनगढीसहित ८ स्थानमा व्यावसायिक फूल खेती गरिरहेका छन् । साउद दाजुभाइले ‘१०८ दि डिभाइन एग्रो फार्म’ स्थापना गरेर धनगढी–९ बङ्ग्राकटानमा पुष्पखेतीबाट राम्रै आम्दानी भइरहेको बताएका छन् । यो वर्ष साउद दाजुभाइले २० कठ्ठा क्षेत्रफलमा सयपत्री खेती गरेका छन् । ‘देशभरी १०८ वटा शाखा खोल्ने उद्देश्यले ‘१०८ दि डिभाइन एग्रो फार्म’ खोलेको हो । अहिलेसम्म धनगढीलगायत ८ शाखा वटा खोलेका छौँ,’ रोशनले भने ।
गत वर्ष २ बिघा जमिनमा फूलखेती गरी १७ देखि १८ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । ‘धनगढीमा उत्पादित फूल काठमाडौँ लगायतका अन्य प्रमुख सहरहरूमा समेत बिक्रीका लागि पठाउने गरिएका छौँ । तिहारका लागि अहिले नै अग्रिम अर्डर आउन थालिसकेका छन्’, उनले भने ।
साउद दाजुभाइ मात्रै नभएर धनगढी मटियारिकी सुशीला बिष्टले पनि उपमहानगरपालिकाबाट तालिम पाएपछि डेढ बिघा क्षेत्रफलमा फूल खेती सुरु गरेकी छन् । ३ वर्षयता १ कठ्ठामा फूल लगाउँदै आएकी उनले यसपालादेखि खेती विस्तार गरेकी छन् । वार्षिक १ लाख रुपैयाँ भाडा दिने गरी जग्गा लिएर पुष्प व्यवसाय गरेकी सुशीला आम्दानीबाट खुसी छन् । ‘प्रतिकिलो अहिले ३०० रुपैयाँमा बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘अहिले पनि भ्याइनभ्याइ नै छ ।’
विगतमा घाँसखेती र भैँसीपालन गरिरहेकी मटियारीकी बिष्टले उपमहानगपालिकाबाट ८ दिनको तालिम पाएपछि व्यावसायिक पुष्प खेती सुरु गरेको बताइन् । ‘पुर्ख्यौली घर दार्चुलाबाट आएको ९ वर्ष भयो । सुरुमा मैले भैँसी पालेँ, तर मिहिनेतको तुलनामा खासै आम्दानी नभएपछि यतातिर लागेको हो,’ उनले भनिन् ।
सुशीलाले अहिले आफ्नै लगानीमा न्यूबन्डोली नर्सरी कन्सर्न शीतभण्डारसमेत निर्माण गरेकी छन् । ‘१० देखि १६ डिग्री तापक्रम कायम हुने उपकरणसहित फूल राख्न मिल्ने कोल्ड स्टोर पनि बनाएकी छु,’ उनले भनिन्, ‘यहाँ १ महिना जति फूल राख्न मिल्छ । कोल्ड स्टोमा करिब ५ लाख खर्च भएको छ ।’ छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यस खेतीतर्फ किसानको आकर्षण बढिरहेको उनको भनाइ छ ।
रोपेको ८० देखि ९० दिनमा फुल्ने र पूजाआजा, घर सजावट र विवाह व्रतबन्ध आदि शुभकार्यमा फूलकै आवश्यकता हुने भएकाले मिहिनेत खेर नजाने उनले बताइन् । पूजाआजा, घर सजावट र विवाह व्रतबन्ध आदि शुभकार्यको सिजनमा काठमाडौँसमेत पठाउने गरेको उनले बताइन् । ‘सिजनमा त काठमाडौँ पनि पठाउँछौँ, अहिले श्राद्धको सिजन चलिरहेकाले व्यापार कम भएको छ । त्यही भएर अहिले व्यापार कम भएको छ,’ उनले भनिन् । फूलखेतीबाट अहिले वर्षमा ५० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन् ।
धनगढीकै जुगेडा घर भएकी कृतिका सिंहले पनि २ कट्ठा जमिनमा सयपत्री रोपेकी छन् । पहिला धानखेती गर्दै आएकी उनले ३ वर्षदेखि पुष्पखेती गरेकी छन् । धानभन्दा पुष्पखेतीको आम्दानी कैयौँ गुणा बढी भएपछि उनी पनि खुसी छिन् । ‘धान लाउँदा बढीमा ३ बोरा फल्थ्यो । त्यसको मूल्य धेरैमा पनि १२ हजार हो । आउने तिहारका लागि फूल तयार हँुदै छ,’ कृतिकाले भनिन्, ‘तिहारमा त डेढ क्विन्टल जति बिक्री हुने र कम्तीमा २ लाख आम्दानी हुने अनुमान छ ।’
रोशन र दशरथ, सुशीला र कृतिका मात्र होइनन्, धनगढीकै मोतीचोकमा सनराइज मल्टी एग्रो सञ्चालन गरेका जोगेन्द्र सेट्ठीले पनि उपमहानगरपालिकाबाट तालिम पाएपछि डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन् । धनगढी–१२ जुगेडाका प्रतापसिंह बिष्ट, जुगेडा ‘डी’ गाउँकी आशा पन्त मिश्र, धनगढी–१३ अम्बिका टोलका पुष्करसिंह बिष्ट, धनगढी–१३ की गीता बिष्ट, धनगढी–४ की रिता जोशी अवस्थी, धनगढी–१२ का इन्द्रदेव जोशी, धनगढी–४ का रामबहादुर सिंह, धनगढी–११ का कृष्णबहादुर ऐरलगायत किसान अहिले फूल खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
अहिले धनगढी क्षेत्रमै २० भन्दा बढी किसानले व्यावसायिक पुष्प खेती गरिरहेका छन् । ‘धनगढी क्षेत्रमा पहिलोपटक पुष्पखेती गर्ने लहर देखिएको छ । धनगढीमै विभिन्न किसानको गरी १०० कट्ठा जग्गामा पुष्पखेती गरिएको छ,’ धनगढी उपमहानगरपालिका कृषि शाखाका कृषि शाखा सहायक प्रमुख केशव भट्टले भने ।
वर्षमा २५० क्विन्टलभन्दा बढी फूल उत्पादन हुने गरेको भट्टले बताए । दसैँ र तिहारको सिजनमा खुद्रा प्रतिकिलो ५०० र थोक ६०० रुपैयाँमा बिक्री हुने गरेको उनको भनाइ छ । पुष्पखेतीमा यति धेरै किसानको आकर्षण बढ्नुमा धनगढी उपमहानगरपालिकाको नीतिले प्रोत्साहन गरेको किसान बताउँछन् । उपमहानगरले धनगढीमा पुष्पखेतीलाई प्रोत्साहन गर्न भारतबाट सयपत्री र प्लास्टिकका माला र बुके आयात गर्न नपाइने नियम लगाएको छ ।
उपमहानगरपालिकाले धनगढीलाई ‘फूलको हब’ बनाउने नीति लिएको छ । ‘किसानलाई ८ दिनको तालिम दियौँ । पुष्प व्यवसायको सम्भावना र आम्दानीबारे बुझायौँ,’ भट्टले भने, ‘भारतबाट सयपत्री र प्लास्टिकका फूल आयात तथा बिक्री गर्न नपाइने नियम लगाएपछि पनि यसप्रति आकर्षण बढेको हो ।’ धनगढी उपमहानगरपालिका आफैँले पुष्प खेतीको प्रवद्र्धनका लागि १५ कट्ठा जग्गामा सयपत्री फूलको खेती गरेको उनले जनाए ।
किसानले उत्पादन गरेको फूलको बजारीकरणमा सहयोग पुर्याउन उपमहानगरपालिकाले विगत ३ वर्षदेखि ढुवानी अनुदानको व्यवस्था गर्दै आएको उनले बताए । ‘धनगढीबाट काठमाडौँ फूल पठाउँदा श्री एयरलाइन्सले लिने प्रतिकेजी २१० रुपैयाँ भाडालाई उपमहानगरपालिका र एयरलाइन्सबीचको सम्ܒौतामार्फत ९० रुपैयाँमा झारिएको छ । उक्त ९० रुपैयाँ भाडामध्ये ५० रुपैयाँ उपमहानगरपालिकाले अनुदानबापत बेहोर्ने र ४० रुपैयाँ मात्र किसानले तिर्नुपर्ने प्रबन्ध मिलाइएको छ’, उनले भने ।
त्यस्तै, किसानहरूलाई बिक्रीका लागि विभिन्न स्थानमा स्टलहरू उपलब्ध गराइएको उनले बताए । स्थानीय स्तरमा खपत बढाउन उपमहानगरपालिकाले भाटभटेनी र ओम प्यालेस जस्ता ठुला स्टोरहरूसँगसमेत समन्वय गरेर फूल बिक्रीमा सहयोग गरिरहेको छ । ‘विगतमा फूल बिक्री नभई खेर जाने अवस्था आउँदा नगरप्रमुखको निर्णयमा उपमहानगरपालिका आफैँले किसानबाट फूल खरिद गरी राहत प्रदान गरेका थियौँ’, उनले भने ।सौर्य अनलाइन




