Ad imageAd image
लोड हुँदैछ...

कोण फेरिँदा रंग बदलिने हजारको नोट बजारमा

bardiyatimes

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप सुरक्षा विशेषतासहित एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । ‘सिरिज–२०२५’ अन्तर्गतको यो नोट बिहीबारदेखि चलनचल्तीमा आएको हो ।

नयाँ नोटको मूल स्वरूपमा भने ठूलो परिवर्तन गरिएको छैन । यसको बैजनी रङ तथा आकार साविककै कायम राखिएको छ भने फिक्का हरियो रङको घेरा पनि यथावत् राखिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

तर नयाँ नोटमा नक्कली नोट नियन्त्रणलाई लक्षित गर्दै विभिन्न सुरक्षा विशेषता थपिएका छन् । नोटमा पानीछाप, रङ परिवर्तन हुने सुरक्षा धागो तथा कोण परिवर्तन गर्दा फरक रङमा देखिने विशेषता समावेश गरिएको छ ।

नोटको अग्रभागमा सगरमाथाको चित्रसँगै लालीगुराँसको पानीछाप राखिएको छ । दृष्टिविहीन व्यक्तिले स्पर्शबाट पहिचान गर्न सकून् भनेर रोमन अक्षर ‘एम’ र तेर्सा रेखासमेत राखिएको छ ।

नोटमा रहेको ३.५ मिलिमिटर चौडा सुरक्षा धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकित छ । यसलाई सोझो हेर्दा रातो र कोण परिवर्तन गरेर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ ।

त्यसैगरी सगरमाथाको दायाँतर्फ राखिएको भगवतीको चित्र पनि कोणअनुसार सुनौलोबाट हरियो रङमा परिवर्तन भएको देखिन्छ । नयाँ नोटमा गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।

नोटको पृष्ठभागमा चितवनको सरकारी हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र राखिएको छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सात वटा लालीगुराँस तथा हनुमानढोकास्थित लँहचोकको ऐतिहासिक स्तम्भको आकृति पनि समावेश गरिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ सिरिजका तोकिएका सङ्केत नम्बरपछि अब ट/९२ ०००००१ देखि त ५० ९९९९९९ नम्बर समूहसम्मका नयाँ नोट वितरण सुरु गरिएको छ ।

राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले जतनपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share with