होमेन्द्र थापा, बर्दिया । बालबालिकाको स्वास्थ्य तथा शारीरिक र मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन सेवा बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरियाको आकर्षणको केन्द्र बनेको छ । जिल्लाका विभिन्न पालिकाबाट अभिभावक आफ्ना बालबालिका लिएर स्वर्णविन्दु प्राशनका लागि स्वास्थ्य केन्द्र पुग्ने गरेका छन् ।
बर्दियामा स्वर्णविन्दु प्राशनप्रति अभिभावकको आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै १३ हजार ३ सय ६१ जना बालबालिका यस सेवाबाट लाभान्वित भएको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । गत साउन महिनामा २ हजार ५ सय ४१ जनाले सेवा लिएका थिए भने भदौ महिनामा १ हजार ३ सय २० बालिका र १ हजार ६ सय ५४ बालक गरी २ हजार ९ सय ७४ जनाले स्वर्णविन्दु प्राशन गरेको केन्द्रको तथ्याङ्क छ ।
एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस सेवाबाट जिल्लाका हजारौँ बालबालिका लाभान्वित भएका छन् । बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा बढ्दै गएको सचेतना र आयुर्वेदिक उपचार पद्धतिप्रतिको आकर्षणसँगै स्वर्णविन्दु प्राशन कार्यक्रमप्रति पनि चासो बढेको देखिन्छ ।
ठाकुरबाबा नगरपालिका–८ की गीता थारूले आफ्ना बालबालिकालाई स्वर्णविन्दु औषधि खुवाउन बिहान ४ बजे नै घरबाट हिँडेको बताउनुभयो । टाढाबाट स्वास्थ्य केन्द्रसम्म आउनुपर्ने भएकाले स्वर्णविन्दु प्राशन कार्यक्रम स्थानीय तहमै सञ्चालन गर्न सके अभिभावकलाई अझ सहज हुने उहाँको भनाइ छ ।
गुलरिया नगरपालिका–४ का अयोध्या प्रसाद गोडियाले आफ्ना बच्चालाई स्वर्णविन्दु प्राशन गराएको यो आठौँ पटक भएको बताउनुभयो । नियमित रूपमा औषधि खुवाएपछि बच्चाको खानपानमा रुचि बढेको तथा पहिलेभन्दा फुर्तिलो र स्वस्थ महसुस गरेको उहाँको अनुभव छ ।
बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरियाका आयुर्वेद चिकित्सक डा। विष्णु बरालका अनुसार स्वर्णविन्दु प्राशन कार्यक्रम प्रत्येक महिना कुशे नक्षत्रका दिन सञ्चालन हुँदै आएको छ । कुशे नक्षत्र करिब २७ दिनको अन्तरमा पर्ने भएकाले सोहीअनुसार प्रत्येक महिना सेवा प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।
स्वर्णविन्दु प्राशनले बालबालिकाको पाचन शक्ति सुधार गर्न, स्मरण शक्ति बढाउन, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा शारीरिक र मानसिक विकासमा सहयोग पु¥याउने डा। बरालले जानकारी दिनुभयो ।
संघीय सरकारले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम बर्दियामा गत असोज महिनादेखि सञ्चालनमा आएको हो । सेवा प्रदान गर्ने केन्द्रहरूको कार्यसम्पादनका आधारमा बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र देशभर पाँचौँ स्थानमा रहेको केन्द्रले जनाएको छ ।
बालबालिकाको स्वास्थ्यप्रति अभिभावकको बढ्दो सचेतना र आयुर्वेदिक उपचारप्रतिको आकर्षणसँगै स्वर्णविन्दु प्राशन सेवा लिनेको संख्या पनि बढिरहेको छ । यद्यपि, सेवा लिन टाढाबाट आउनुपर्ने अभिभावकको बाध्यता अन्त्य गर्न स्थानीय तहका स्वास्थ्य संस्थामार्फत सेवा विस्तार गर्न सके कार्यक्रमको पहुँच अझ व्यापक बनाउन सकिने देखिन्छ ।

स्वर्णविन्दु प्राशनप्रति बढ्दै अभिभावकको आकर्षण
Leave a Comment



